images
images

चैत्र २३ भित्र वडाका उम्मेदवार सिफारिस गर्न एमाले बागमती प्रदेश कमिटीको निर्देशन

  • १९ चैत्र २०७८, शनिबार १५:०७

काठमाण्डौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले चैत २३ गतेभित्र वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

प्रदेश कमिटीको आज बसेको बैठकले चैत २३ गतेभित्र वडा कमिटी बैठक बसेर वडाध्यक्ष र सदस्यहरूको छनौट गर्न मातहतका वडा कमिटीहरूलाई पत्रचार गरेको हो । उम्मेदवार छनौट सकेसम्म सर्वसम्मत गर्न र वडाबाटै आवश्यक संख्याका उम्मेदवार टुङ्गयाउन भनिएको छ । सहमति नभएको अवस्थामा महिला सस्यबाहेक अन्य पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न पत्र पठाइएको नेकपा एमालेको बागमती प्रदेश कमिटीले जनाएको छ ।

यस्तै, चैत २५ गतेसम्म सोही विधिबाट महानगर, उपमहानगर, नगर र गाउँपालिका कमिटीहरूको बैठक बसी उम्मेदवारको नाम सिफारिस गर्न भनिएको छ । मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षमा सर्वसम्मत नभए दुवै पदमा एक महिला र एक पुरुष अनिवार्य हुनेगरी तीन तीनजनाको नाम सिफारिस गर्न पालिका कमिटीहरूलाई पत्राचार गरिएको छ ।

पालिका कमिटीहरूले सिफारिस गरेका उम्मेदवारको सूचीमा जिल्ला कमिटीहरूले सुझावसहित प्रदेश कार्यालयमा पठाउन चैत २५ गतेको समय तोकिएको छ । जिल्लाले तल्लो कमिटीका नाम थपघट भने गर्न पाउने छैन ।