images
images

दोलखाको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ आजदेखि बिक्रिमा

  • १९ चैत्र २०७९, आईतवार ०७:२९

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकस्थित मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ आजदेखि सर्वसाधरणका लागि निष्कासन तथा विक्रि खुल्ला भएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आइपिओ बाँडफाँड गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ६ लाख ७८ हजार ६ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँड गरेको हो । स्थानीयका लागि कम्पनीले ७ लाख ६० हजार कित्ता शेयर छुट्याएको थियो । सो शेयर स्थानीयमा वितरण हुन नसकेपछि ८१ हजार ४ सय कित्ता शेयर समेत सर्वसाधरणका लागि जारी गरिएको हो । कम्पनीले जारीपुँजी ७६ करोडको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता शेयर स्थानीय सर्वसाधरणका लागि विक्रि गर्न अनुमति पाएको थियो ।

दोस्रो चरणमा विक्री गर्न लागिएको कुल कित्ता शेयरमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओको विक्री अवधि छिटोमा चैत २२ गतेसम्म निर्धारण गरिएको छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा आगामी वैशाख ३ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएकाले चैत २२ गतेसम्म मात्र कम्पनीको आईपीओ विक्री खुला हुने निश्चित छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल ए इस्यूअर देखि केयर एनपी डी इस्यूअर सम्मको रेटिङ् प्रदान गर्ने गर्दछ । जसमा केयर एनपी त्रिपल ए इस्यूअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।