images
images

एसईई परीक्षा आजदेखि सुरु, एक महिनामै नतिजा

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि सुरु भएको छ ।

देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने भएको हो । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।

आज गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने एसईई परीक्षामा यो वर्ष पाँच लाख १२ हजार ४२१ परिक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । उनका अनुसार तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदैछन् ।

दोलखाबाट २ हजार बढीले परीक्षा दिँदै

यो वर्ष दोलखाबाट २ हजार ३२२ परीक्षार्थीले एसईई परीक्षा दिँदैछन् । आजदेखि सुरु भएको एसईईमा यो वर्ष दोलखाबाट ९५ वटा विद्यालयका २ हजार ३२२ परिक्षार्थी सहभागी हुने भएका हुन् । जसअनुसार नियमिततर्फ १ हजार ९१४, ग्रेडबृद्धितर्फ ३५८ र प्राविधिक धारतर्फ ५० जना छन् ।

दोलखाका ८३ वटा सामुदायिक, ११ वटा संस्थागत र एउटा खुला बिद्यालयबाट परीक्षार्थीहरुले एसईई दिँदैछन् । परीक्षाका लागि जिल्लामा १७ वटा केन्द्र निर्धारण गरिएको छ ।

विशेष रणनीतिक योजना

बोर्डले यो वर्ष एसईई परीक्षाको सामुहिक अनुगमनमा रोक लगाएको छ भने एक महिनामै नतिजा सार्वजनिक गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।

एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा  तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।