भक्तपुर । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को अधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डेले आ–आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी लामालाई अनुभवको आधारमा बलियो मानिएको छ भने पाण्डेलाई युवा व्यवसायीहरूको साथ रहने अपेक्षा गरिएको छ ।
लामा समूहमा अनुभावी उम्मेदवार
लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा छन् । लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
पाण्डे समूहमा नयाँ अनुहार
पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् । पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याको गाँठो फुकाउने र व्यवसायी प्रतिकूल रहेका सार्वजनिक खरिद ऐनका दफाहरू खारेज गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) पतिस्पर्धामा छन् । यसअघि महासचिव अनुभवको आधारमा दाहाललाई बलियो मानिएको छ भने पन्त पनि व्यावसायिक सोच भएका व्यक्ति हुन् । यस्तै उपाध्यक्ष एसोसिएटमा नरहरि थपरिया र एनपी शेर्पा प्रतिस्पर्धामा छन् ।
महासचिवमा राना र घिमिरे प्रतिश्पर्धामा
महासचिव पदका लागि बलिभद्र राना र शिवहरि घिमिरेको उम्मेदवारी छ । राना व्यवसायिक सोच भएका व्यक्तिका रूपमा चिनिन्छन् भने घिमिरे यसअघि पनि महासंघको उपमहासचिव पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।
आन्तरिक उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र अनुभवी सुवित श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ । कोषाध्यक्ष पदका लागि व्यवसायिक बालाजु श्रेष्ठ र उज्ज्वल गौतम प्रतिस्पर्धामा छन् । सह–कोषाध्यक्ष पदमा भने उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह वीच प्रतिश्पर्धा हुँदैछ ।



हाम्रो अपडेट 






