
सोलुखुम्बु । सोलुखुम्बुमा जंगलमा लागेको आगो बस्तीमा पस्दा १० घर जलेर नष्ट भएका छन् भने दर्जनौँ गोठ र पशुचौपायामा क्षति भएको छ ।
आगलागीबाट जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चनका स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको हो । यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टिकाध्वज राईको घर पनि जलेको सोलुखुम्बुका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो ।
थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो बस्तिमा पस्दा पुरै बस्ती खरानी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वनको डढेलो हावाको वेगका कारण बस्तीमा सल्किँदा अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लागेको हो । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिका लगायतको सक्रियतामा नियन्त्रणमा आएपनि जंगलको डढेलो भने नियन्त्रणमा आउन सकेको छैन । आगोले सबै नष्ट हुुँदा भएभरका सबै गुमाएपछि पुरै गाउँ नै रुवाबासीमा परिणत भएको छ ।
यसैबीच, जिल्लाको नेचासल्यान गाउँपालिका–२ डिटीमा आज दुई घर र एक खोर जल्दा ६५ लाखको क्षति भएको छ । आज बिहान साँढे ४ बजे डिटीका ज्ञानबहादुर खत्रीको दुईवटा घर र बाख्राको एउटा खोर जल्दा ६५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।