images
images

जिरी नगरपालिकामा सुरु भयो योजना तर्जुमा, वडालाई ४ करोडको सिलिङ

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम तर्जुमा गर्न सुरु गरेको छ ।

जिरी नगरपालिकाले कार्यतालिका नै बनाएर आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वडागत/शाखागत बजेट सीमा, बजेट तर्जुमा मार्गदर्शन र योजना तथा कार्यक्रम तर्जुमा गर्न सुरु गरेको हो । जसअनुसार मंगलबार चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा गर्नुको साथै योजना तर्जुमा अभिमुखीकरण गोष्ठी सम्पन्न गरेपछि कार्यक्रमको थालनी भएको छ ।मंगलबारदेखि योजना तर्जुमा सुरु भएको जिरी नगरपालिकामा विहिबार अर्थात आज बैशाख २० गतेदेखि टोल/बस्तीस्तरमा योजना संलग्न तथा छनौटको काम हुनेछ ।

जेठ ७ गते वडास्तरीय योजना प्राथमिकिकरण, जेठ ८ गते आर्थिक विकास समितिमा विषयगत छलफल तथा योजना मस्यौदा तयार र ९ गते सामाजिक विकास समितिमा विषयगत छलफल एवम् योजना तथा कार्यक्रमको मस्यौदा तयार गरिने छ । नगरपालिकाको अनुसार जेठ १४ गते पूर्वाधार विकास समतिमा विषयगत छलफल एवम् योजना तथा कार्यक्रमको मस्यौदा तयार गरिने, जेठ १६ गते वन वातावरण तथा विपद् व्यवस्थापन समितिमा विषयगत छलफल एवम् योजना तथा कार्यक्रमको प्रस्ताव मस्यौदा तयार गर्ने कार्यक्रम छ ।

जेठ १७ गते सुशासन तथा संस्थागत विकास समितिमा विषयगत छलफल तथा योजना तथा कार्यक्रम तयार, जेठ १८ गते गैर सरकारी संस्थाको योजना तथा कार्यक्रमको छलफल, २० गते स्थानीय राजस्व समितिमा आर्थिक ऐनको मस्यौदा तयार पारेपछि जेठ २१ गते लेखा समितिको बैठक बस्नेछ । त्यसपछि २२ गते विद्यायन समितिको बैठक, २३ गते न्यायिक समितिको बैठक बस्ने कार्यक्रम छ ।

जेठ २४ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट एकीकृत योजना तर्जुमा गर्ने तथा जेठ मसान्तभित्र बजेट तथा कार्यक्रम कार्यपालिकाबाट स्वीकृत गर्ने कार्यक्रम रहेको नगरको कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार असार १० गते बजेट तथा कार्यक्रम नगरसभामा पेश गर्नुपर्ने र असार २० गते नगरसभाबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने कार्यक्रम तय भएकोे छ ।

योजना तथा कार्यक्रम छनौट, निर्माण र बजेट बनाउने बेलाको यो संघारमा नगरप्रमुख मित्र बहादुर जिरेलले जनप्रतिनिधि सबै जनताको प्रतिनिधि भएको भन्दै योजना छनौट तथा निर्माण गर्दा सबै जनतालाई समेटिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले साना योजना निर्माणमा जोड नदिई कम्तीमा पनि ५ लाख भन्दा माथिको योजना निर्माण गर्न र देखिनेगरी काम गर्र्न वडाहरुलाई निर्देश गर्नुभयो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नगरले तयार पारेको कार्यतालिकालाई मध्यनजर गरी आगामी आर्थिक वर्षको योजना निर्माण, छनौट तथा नीति तथा कार्यक्रम तर्जुमा गरिसक्ने बताउनुभयो ।

वडालाई ४ करोडको बजेट सिलिङ

यसैबीच, वडागत बजेटको सिलिङ पनि तोकिएको छ । सबै वडाको लागि ४ करोड १० लाख ८१ हजार रुपैंया बजेटको सिलिङ तोकिएको हो । जसअनुसार वडा नम्बर १ मा ४५ लाख ७५ हजार, वडा नम्बर २ मा ४५ लाख ६६ हजार, वडा नम्बर ३ मा ४५ लाख ७० हजार, वडा नम्बर ४ मा ४५ लाख ५८ हजार, वडा नम्बर ५ मा ४५ लाख ५६ हजार, वडा नम्बर ६ मा ४५ लाख ६२ हजारको सिलिङ तोकिएको छ ।

यसैगरी वडा नम्बर ७ मा ४५ लाख ६० हजार, वडा नम्बर ८ मा ४५ लाख ६८ हजार, वडा नम्बर ९ मा ४५ लाख ६६ हजार बजेटको सिलिङ तोकिएको छ । नगरले ९ वटै वडाका लागि वडागत सिलिङ तोकेर पठाएपछि वडाहरुले सोही बजेट अनुसारको कार्यक्रम र योजना तयार पार्नेछन् ।