images
images

विधुत प्राधिकरण आर्थिक संकटमा, ११ अर्व ६१ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको खल्ति टाट पल्टिएको अवस्थामा पुगेको बताउनु भएको छ ।

कार्यकारी निर्देशक शाक्यले आज श्वेतपत्र जारी गर्दै केन्द्रीय कोषमा रहेको मौज्दात रकम भन्दा भुक्तानीको दायित्व बढी रहेको भन्दै खल्ति रित्तिएको र प्राधिकरण ‘टाट’ पल्टने अवस्थामा पुगेको बताउनुभएको हो । उहाँले फागुन मसान्तसम्मको ठेक्कापट्टाको भुक्तानी बाँकी बिल ११ अर्व ६१ करोड रहेको छ र केन्द्रीय कोषमा १० अर्व १० करोड मौज्दात रहेको जानकारी दिनुभयो ।

केन्द्रीय कोषमा १० अर्व १० करोड मौज्दात भएकोमा मुद्धतीमा ३ अर्व ६४ करोड र धरौटी खातामा ३ अर्व ९५ करोड र चालु खातामा २ अर्व ४७ करोड रहेको छ । मौज्दात रकम भन्दा दायित्व बढी रहेको तथा कोषको मौज्दात रकमबाट भुक्तानी दिन नसकिने भएपछि १० अर्व अल्पकालिन ऋण लिने प्रक्रिया अघि बढाइएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

पदवहाली गरेको एक महिनाभित्रै श्वेतपत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक शाक्यले विधुत प्राधिकरणको बित्तिय अवस्था कमजोर रहेको बताउनुभएको हो । प्राधिकरणले नेपाल सरकारलाई व्याज वापत साँढे २९ अर्व र टनकपुर विधुत वापत ३ अर्व गरी साँढे ३२ अर्व रुपैयाँ भुक्तानी दायित्व वाँकी रहेको जनाएको छ ।