
काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रमलाई सत्तापक्षले सकारात्मक र गर्न सक्ने खालको भएको जनाएको छ भने प्रतिपक्षले गन्तव्य विनाको कार्यक्रम भएको प्रतिक्रिया दिएको छ ।
गन्तव्य विनाको कार्यक्रमः वर्षमान पुन
पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारलाई गन्तव्यविहीन, योजनाविहीन र अलमलिएको आरोप लगाउँदै नीति तथा कार्यक्रम पनि त्यसै अनुसार आएको टिप्पणी गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै उहाँले अलमल र चलखेल खालको कार्यक्रम आएको प्रतिक्रिया दिनुभएको हो । पूर्व अर्थमन्त्री पुनले सरकारले शुशासनको कुरा गरेपनि नीति तथा कार्यक्रममा कुनै छाँटकाँट नदेखिएको प्रतिक्रिया दिनुभयो । नीति तथा कार्यक्रम संसद् छल्ने मनसायका साथ ल्याइएको उहाँको आरोप छ ।
एक स्टेप अघि बढेर ल्याएको भए अझ राम्रोः पूर्व अर्थमन्त्री महत
सत्तापक्षकै सांसद तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएपनि अझ एक स्टेप अघि बढेर ल्याएको भए अझ राम्रो हुने प्रतिक्रिया दिनुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गर्नुभएको हो ।
पूर्व अर्थमन्त्री महतले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रमा जसरी आउनुपर्ने हो, त्यसरी कार्यक्रम नआएको र आफूलाई चुकेको आभास भएको बताउनुभयो । समग्रमा नीति तथा कार्यक्रम ठीक भएपनि कार्यान्वयनमा निर्भर हुने उहाँको प्रतिक्रिया छ ।