दोलखा । सरकारी लगानीमा अपर तामाकोशी हाइड्रो पावर कम्पनीले दोलखामा निर्माण गरिरहेको २० मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माण कार्य ११ महिनादेखि ठप्प छ ।
स्वदेशी लगानीमा निर्माण गरिएको देशकै ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको महत्वपूर्ण अङ्ग मानिएको रोल्वालिङ आयोजनाको प्रगती समेत कमजोर रहेको छ । चार वर्षभित्र पूरा गर्ने गरी तीन वर्ष अघि निर्माण सुरु गरिएको यो आयोजनाको हालसम्म २० प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।
चार वर्षका लागि म्याद थप
गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना -जिक्याप) ले गत असार २० गते पत्राचार गरी काम रोकेपछि ११ महिनादेखि आयोजनाको काम अघि बढ्न सकेको छैन ।
काम गर्न नपाएपछि निर्माण कम्पनीका कर्मचारी तथा कामदार उपकरण छाडेर आयोजनास्थलबाट बाहिरिएका छन् । रोल्वालिङ आयोजनको तीन वर्षमा २० प्रतिशत मात्रै भौतिक प्रगती भएपछि निर्माण अवधि चार वर्षका लागि थपिएको छ ।
संशोधित लक्ष्यमै आयोजना निर्माण भएपनि कूल निर्माण अवधि ७ वर्ष पुग्ने देखिएको छ । सानो आयोजना निर्माणमा समेत यति लामो समय लाग्ने भएपछि सरकारी निकायकै क्षमता र व्यवस्थापनमा गम्भीर प्रश्न उठ्न थालेको छ ।
लगानी सङ्कलन
आयोजनाको ६ दशमलव २ किलोमिटर लामो मुख्य सुरुङसहित भौतिक संरचना निर्माणको ठेक्का एसएससिई–हाइ हिमालयन जेभीलाई दिइएको थियो ।
एसएससिई चिनियाँ तथा हाइ हिमालय नेपाली कम्पनी हो । एकल ठेक्का मार्फत काम गर्ने गरी २०७९ पुस १२ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो ।
रोल्वालिङ निर्माणकै लागि अपर तामाकोसीले २ वर्षअघि नै हकप्रद सेयरमार्फत लगानी सङ्कलन गरिसकेको छ । आयोजना स्थलको विवाद समाधान नभएका कारण काम गर्न नपाएको निर्माण कम्पनीको दावी छ ।
क्षतिपूर्ति दाबी गर्ने जोखिम
आयोजनाको बाँधस्थलसम्म सडकको पहुँच नभएकाले हेलिकप्टरमार्फत रिकुमा स्काभेटर लगायतका निर्माण उपकरण ढुवानी गरिएको छ । निर्माण सामग्री ढुवानीका लागि काब्रे भीरबाट बाँधस्थलसम्म रोपवे पनि निर्माण गरिएको छ ।
प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावरले भने वन तथा संरक्षण क्षेत्रको स्वीकृति पाउन ढिलाइ हुँदा आयोजना निर्माण लम्बिएको बताएको छ । आयोजना ढिलाइ हुँदा ठेकेदारले क्षतिपूर्ति दाबी गर्ने जोखिम समेत बढेको छ ।
तस्वीरः काम रोकिएपछि अलपत्र छाडिएका उपकरण



हाम्रो अपडेट 






