images
images

दोलखामा लम्पी स्किन तिव्र गतिमा फैलिँदै, ४३ वटा पशु संक्रमित

  • १९ जेष्ठ २०८०, शुक्रबार ०८:१३

दोलखा । दोलखामा लम्पी स्किन रोग पशुहरुमा तिव्र रुपमा फैलिन थालेको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका अनुसार हालसम्म ४३ वटा पशुहरु लम्पी स्किन रोगबाट विरामी भएका हुन् । तामाकोशी गाउँपालिकाका पशुहरुमा सबैभन्दा बढी लम्पी स्किन रोग देखा परेको छ । तामाकोशीका विभिन्न स्थानमा गरी २६ वटा पशुहरु लम्पी स्किन रोगबाट विरामी परेका छन् भने भीमेश्वर नगरपालिकामा १० वटा, जिरी नगरपालिकाका तीन वटा तथा वैतेश्वर र शैलुङ गाउँपालिकामा दुई–दुई वटा पशुमा लम्की स्किनको संक्रमण देखिएको हो ।

लम्पी स्किनको संक्रमण विशेषगरी गाईभैंसीमा देखिने गर्दछ । यो रोग लागेमा गाईभैंसिमा उच्च ज्वरो आउने, शरीरमा गिर्खा देखिने, दुध उत्पादन घट्ने, संक्रमित पशुले ¥याल, सिँगान बगाउने, तौल घट्ने जस्ता लक्षण देखा पर्ने पशुचिकित्सकहरुले बताएका छन् । यस्तै यो रोग लागेमा अधिकांश गर्भिर्णाी गाईभैंसी तुहिने सम्भावना हुने भएकाले रोग देखापर्ने वित्तिकै खबर गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका निमित्त प्रमुख पलट चौधरीले आग्रह गर्नुभयो । उहाँका अनुसार लम्पी स्किन लामखुट्टे, टोक्ने झिँगा र किर्नाबाट सर्ने सम्भावना बढी देखिएको छ ।

संक्रमित पशुहरुको उपचारका लागि गाउँपालिका/नगरपालिकाको समन्वयमा पशु चिकित्सकको टोली खटाइएको छ । लम्पी स्किनबाट संक्रमित पशुलाई भ्याक्सिन दिनुपर्ने भएपनि हालसम्म जिल्लामा भ्याक्सिन प्राप्त नभएकाले समस्या भएको छ । भ्यासिन ल्याउन पहल भइरहे पनि हालसम्म प्राप्त नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । दोलखा र सिन्धुपाल्चोक दुई वटा जिल्ला हेर्दै आएको कार्यालयले सिन्धुपाल्चोकमा पनि यो रोगबाट धमाधम पशुहरु संक्रमित भइरहेको बताएको छ । सिन्धुपाल्चोकमा यो रोगबाट १ सय ८ वटा पशुहरु संक्रमित भएका छन् ।