images
images

के छ राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा ? हेर्नुहोस, राजपत्रमा प्रकाशित (पूर्णपाठ)

  • १९ जेष्ठ २०८०, शुक्रबार ०९:५८

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा प्रकाशित भएसँगै अब यो ऐन लागू हुनेछ । नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ । ऐनमा १६ वर्ष उमेर पूरा गरेपछि उनीहरूले वंशजको आधारमा नेपालको नागरिकता लिन पाउने व्यवस्था राखिएको छ ।

२०७२ साल असोज ३ गतेभन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ऐनमा गरिएको छ । विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिका हकमा नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, बाबुको पहिचान नभएर वंशजको नागरिकता लिएको छ र बाबु विदेशी ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने व्यवस्था ऐनमा उल्लेख छ ।

नयाँ ऐनमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ । गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालमा रहँदाको आफ्नो नागरिकता अथवा बाबु, आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाणपत्र पेश गर्नुपर्नेछ । साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।