images
images

दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा, रहस्य गर्भमै

  • १९ जेष्ठ २०८०, शुक्रबार १०:२१

काठमाडौं । आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ ।

२०५८ साल जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको आज २२ वर्ष पूरा भएको हो । दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो ।

घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । २२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् ।

२०६२/६३ को जनआन्दोलनमार्फत पुनः स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोसेपछि २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भएको थियो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ ।