सुनसरी । सुनसरीमा कारभित्र १ करोड १ लाख रुपैयाँ भेटिएको छ ।
घुस्की नाकाबाट सुनसरीको हरिनगर गाउँपालिकातर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारभित्र १ करोड १ लाख रुपैयाँ भेटिएको हो । सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गामन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले गएराति सुनसरीबाट हुन्डीको आशंकामा सो बराबरको नगद बरामद गरेको हो । बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान र ५ सय दरको ८ सय थान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रकमसँगै कार र चालक सुनसरीकै ३७ वर्षीय ईसा अन्सारीलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने छ ।










