images
images

नेकपा एस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दै

  • १८ असार २०७९, शनिबार १०:५५

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।

बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्ने भएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा आज सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बस्ने भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईका अनुसार संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसअघि नै काठमाडौं पुगिसकेका छन् ।

हिजो मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेका थिए । मुख्यमन्त्री पाण्डे विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको स्रोतले जनाएको छ । मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको बताइएको छ ।