काठमाण्डौं । नेपालमा पछिल्लो समय क्रुर किसिमका अपराधिक घटना बढ्न थालेको छ ।
देशका विभिन्न जिल्लामा पाशविक तरिकाले मानिसको हत्या गर्ने क्रम बढेको हो । पछिल्लो समय जिउँदै आगो लगाएर हत्या गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । विगतमा कुटपिट, धारिलो हतियारको प्रयोग तथा छिटफुट रुपमा गोलीप्रहार गरी हत्याका घटना हुने गरेकोमा पछिल्लो समय हत्या गरेर मानिसको शवलाई टुक्राटुक्रा पार्ने तथा आगो लगाएर जिउँदै जलाएर मार्ने खालका गम्भिर अपराधिक घटना बढिरहेका छन् । खासगरी महिलालाई जिउँदै जलाएर हत्यागर्ने क्रम बढेको छ ।
गएराती मात्रै मोरङमा एक महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नम्बर १ बिर्ताबजारका ३१ वर्षीया बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।
तर, उनको उपचारकै क्रममा आज विहान ६ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुईजना मात्रै बस्दै आएका थिए ।

श्रीमती जलाएको आरोपमा पक्राउ परेका तिलक
आगो लगाएर एकल महिलाको हत्या
यसअघि गत जेठ २५ गते पनि दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको थियो । दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरेको खुलेको थियो । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले जानकारी दिनुभयो । डढेको अवस्थामा खडायतको शवफेला परेको थियो । यसरी जिउँदै जलाएर ज्यान लिने घटनामा महिला पर्ने गरेका छन् ।










