images
images

जिरीमा पुनः सुरु भयो शनिवारे हाट, कृषि र मौलिक उत्पादन बजारमा

  • १८ असार २०७९, शनिबार २१:१४

जिरी (दोलखा) । कुनै बेला भव्य मेला झैं लाग्ने जिरीको शनिवारे हाट पुनः लाग्न थालेको छ । जिरी बजारवासीको पहलमा बर्षौपछि हाट लाग्न सुरु भएको हो ।

तीन सातादेखि जिरी बजारको लिंकन बजारमा शनिवार हाट लाग्न थालेपछि बजारमा चहलपहल बढेको छ भने पुरानो हाटडाँडाको झल्को समेत देखिन थालेको छ । असारको पहिलो सातावाट सुरु भएको शनिवारे हाटमा तेश्रो सातासम्म आउँदा रौनक थपिदै गएको छ । जिरी नगरपालिकाका बिभिन्न क्षेत्रका किसानहरु आफ्नो उत्पादनलाई लिएर खरिद विक्रिकालागि शनिवार बजार आउन थालेका छन् ।

पछिल्लो पटक शनिवार लागेको हाटमा किसानले स्थानीयस्तरमा उत्पादन भएको ताजा तरकारी बजारमा ल्याएर विक्रि गरेका छन् । लिंकन बजारको सडकपेटीको दायाँबाँयातर्फ लागेको हाटमा किसानले जङ्गलमा उत्पादन हुने जरिंगोको सागदेखि लेकाली च्याउ समेत ल्याएर विक्रि गरेका छन् । अघिल्लो साताको शनिवारे हाटमा जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेल र उपप्रमुख कृष्णमाया खड्का समेत हाटमा पुगेर ताजा तरकारी खरिद गरेका थिए । सो हाटमा चौंरीको मोहीवाट बनाईने सेरगेमदेखि घरेलु मौलिक उत्पादन र घरपालुवा कालिजसम्म विक्रिका लागि ल्याईएको थियो ।

जिरीवाट सडक सञ्जाल अघि बढेसँगै पर्यटकीय नगरी जिरीको व्यापार पनि ओरालो लाग्न सुरु गरेको हो । बषौंको सन्नाटापछि बजारवासी स्वयंले लिंकन बजारमा शनिवारे हाट लगाउन सुरु गरेका हुन् । सो कार्यमा नगरपालिकाका प्रमुख र उपप्रमुख सहित जनप्रतिनिधिले पनि उत्साह भरेका छन् । नगर प्रमुख मित्र जिरेलले स्थानीय उत्पादनको बजारीकरण गर्न र ताजा तरकारी र अन्नवाली आयातलाई रोक्न शनिवारे हाट बजार जरुरी रहेको बताउनुभयो । उहाँले जिरीमा लाग्ने शनिवारे हाटलाई नगरपालिकाले समेत प्रवद्र्धन गर्ने जानकारी दिनुभयो ।

पछिल्लो पटक शनिवार लागेको हाटमा किसानले स्थानीयस्तरमा उत्पादन भएको ताजा तरकारी बजारमा ल्याएर विक्रि गरेका छन् । लिंकन बजारको सडकपेटीको दायाँबाँयातर्फ लागेको हाटमा किसानले जङ्गलमा उत्पादन हुने जरिंगोको सागदेखि लेकाली च्याउ समेत ल्याएर विक्रि गरेका छन् । अघिल्लो साताको हाटमा जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेल र उपप्रमुख कृष्णमाया खड्का समेत हाटमा पुगेर ताजा तरकारी खरिद गरेका थिए । सो हाटमा चौंरीको मोहीवाट बनाईने सेरगेमदेखि घरेलु मौलिक उत्पादन र घरपालुवा कालिजसम्म विक्रिका लागि ल्याईएको थियो ।

सगरमाथाको प्रवेश द्धारकोरुपमा चिनिने जिरी बजारको हाटडाँडामा बर्षौ पहिलेदेखि भव्य हाट लाग्ने गर्दथ्यो । हाटमा आफ्नो उत्पादन विक्रि र खरिद गर्नकालागि दोलखाका अलावा रामेछाप, ओखलढुँगा र सोलुखुम्वुदेखिका स्थानीयवासी आउने गर्दथे । तर, जिरी बजारवाट सडक सञ्जाल रामेछापको ठोसे, सिवालय हुँदै सोलखुम्वुसम्म पुगेपछि जिरीमा लाग्ने हाट बन्द भएको थियो । विगतमा जिरीको हाटडाँडामा हाट लाग्ने गर्दथ्यो । सनिवार हाट लाग्ने भएकै कारण हालको मानेडाँडा बजार हाटडाँडाको नामले चिनिन्थ्यो । हाट लाग्न छाडेपछि तत्कालिन हाटडाँडा बजारको नामै परिवर्तन गरेर मानेडाँडा राखिएको छ । हाटबजारकालागि बनेका संरचना भत्काएर सो स्थानमा बौद्ध धर्मावलम्वीहरुको माने राख्नुको साथै पार्क निर्माण गरिएको छ ।

जिरीमा करिब दुई दशक यता हाट लाग्न छोडेको स्थानीयको भनाई छ । जिरीका बुद्धिजीवी एवम् समाजसेवी टेकबहादुर जिरेलले जिरीमा पुनः हाट लाग्न सुरु भएपनि अहिलेको हाट र पहिलेको हाटको तुलना गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार विगतको शनिवारे हाट भर्नका लागि दोलखा र आसपासका जिल्लाका मानिस आफ्नो उत्पादन लिएर शुक्रवार राति नैं जिरी आउने गर्दथे । जिरीको हाटमा आउनकालागि कतिपय वीच बाटोमा बास बसेर भोलीपल्ट हाटडाँडा पुग्थे । त्यतिवेला शनिवारे हाटमा कृषि उत्पादन, घरेलु उत्पादनका अलावा पशुपन्क्षिहरु समेत विक्रिका लागि राखिन्थ्यो । हाटमा ल्याउने कृषि उत्पादन नगदमा खरिद विक्रि भन्दा पनि आ–आफ्नो उत्पादन साटासाट गर्ने गरिन्थ्यो ।