काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । आज बिहान सिंहदरबारमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते सहभागी भएको थियो । सोमबार मध्यराती कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि नयाँ परिस्थितिबारे छलफल गर्नका लागि रास्वपा बैठक बसेको थियो ।
बैठकले अहिले तत्काल नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको छ ।









