images
images

दोलखामा २११ वटा अपराधिक घटनाः कर्तव्य ज्यान, आत्महत्या र बलात्कार बढ्यो

दोलखा । दोलखामा गत आर्थिक वर्ष २०८०/८१ मा २११ वटा अपराधिक घटनाहरु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत आर्थिक वर्ष २११ वटा मुद्धा दर्ता भएकोमा १३७ वटा प्रक्रियामा भने ७४ वटा मुद्धा फस्र्यौट भएका छन् । अघिल्लो आर्थिक वर्ष दोलखा प्रहरीमा १७६ वटा मुद्धा दर्ता भएकोमा गत वर्ष ३५ वटा बढी मुद्धा दर्ता भएका हुन् । जिल्लाको विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्दा वर्षेनी आपराधिक घटना बढ्दै गएको देखिएको छ ।

२०७८/०७९ मा १७८ मुद्धा प्रहरीकोमा दर्ता भएकोमा २०७९/०८० मा १७६ र गत वर्ष यो संख्या बढेर २११ पुगेको हो । गत आर्थिक वर्ष दोलखामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार र आत्महत्याका घटना अत्यधिक भएका छन् । जिल्लामा घटेका घटना मध्ये सवैभन्दा बढी आत्महत्याका घटना रहेका छन् । दोलखामा गत वर्ष मात्रै ५३ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् । जिल्लामा एक वर्षको अवधिमा ६३ जनाले आत्महत्या गरेका छन् ।

५३ जनाले झुण्डिएर, ८ जनाले विष सेवन गरेर र २ जनाले हाम फालेर आत्महत्या गरेको दोलखा प्रहरीका प्रवक्ता, प्रहरी निरिक्षक सत्रुधन महतोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहन सम्वन्धी २ वटा मुद्धा पनि दर्ता भएको छ । गत आर्थिक वर्ष दोलखामा कर्तव्य ज्यानका ६ र ज्यान मार्ने उद्योगका ६ वटा मुद्धा दर्ता भएका छन् ।

भबितव्य ज्यान सम्वन्धी ४२ वटा घटना भएका छन् भने सवारी ज्यानका ७ र बेवारिसे ज्यानका २ वटा घटना घटेका छन् । सार्वजनिक सुरक्षा बिरुद्धको कसुरमा १७ वटा मुद्धा दर्ता भएको दोलखा प्रहरीले जनाएको छ । दोलखामा बलात्कारका घटनाहरु पनि अधिक हुने गरेका छन् । एक वर्षको अवधिमा बलात्कार सम्वन्धी २१ वटा घटना घटेकोमा १७ वटा जवरजस्ती करणीका र ४ वटा जवरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएका छन् । विगत तीन आर्थिक वर्षको तथ्याँक हेर्दा जिल्लाका बलात्कारका मुद्धाको संख्या बढ्दो क्रममा रहेको छ ।

प्रहरीले जिल्लामा पहिलो पटक अवैध सुन पैठारी तथा संगठित अपराध निवारण ऐन २०७० अन्र्तगतको कसूरको मुद्धा पनि चलाएको छ । लामावगर नाका हुँदै भित्रिएको ११ किलो सुन प्रहरीले बरामद गरेको थियो । सो घटनामा सुनको अवैध कारोवारमा संलग्न चिनियाँ नागरिक सहित एक दर्जन बढीलाई मुद्धा चलाएको थियो । जिल्लामा बिभिन्न ३३ प्रकृतिका घटना भएकोमा लागु औषधका घटना पनि बृद्धि हुन थालेको छ । गत आर्थिक वर्ष लागु औषध सम्वन्धी ४ वटा घटना घटेका छन् ।