काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा सत्तारुढ दलबीच नै मतभेद भएको छ ।
मौद्रिक नीतिको विषयलाई लिएर अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सत्तासाझेदार नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री प्रकाशशरण महतबीच छेडछाड भएको हो । अर्थसमितिको बैठकमा सहभागि दुई नेताहरुबीचको धारणाले मौद्रिक नीतिको विषयलाई लिएर सरकारभीत्रै असन्तुष्टी रहेको स्पष्ट देखिएको हो ।
समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. महतले सरकारले अस्वभाविक रुपमा नेपाल राष्ट्र बैंक र गर्भनरमाथि दबाब दिएर चाहिने भन्दा बढी खुकुलो मौद्रिक नीति ल्याएको टिप्पणी गर्नुभएको छ । मुलुकको अर्थतन्त्र खुला छाड्नेगरि सुधार भईनसकेको अवस्थामा राष्ट्र बैंकले सबै लगानीका ढोका खोल्नेगरि खुकुलो मौद्रिक नीति ल्याएको प्रति उहाँको असन्तुष्टी छ । पूर्वअर्थमन्त्री महतले यस्तो मौद्रिक नीतिका कारण अर्काे वित्तिय अराजकता आउनसक्ने खतरा औँल्याउनुभयो ।
आफु अर्थमन्त्री हुँदा आएको खुकुलो मौद्रिक नीतिका कारण समस्या भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री महतले ‘अर्थमन्त्री र गर्भनरसावको त ट्युनिङ मिल्छ क्यार’ भन्दै छेडछाडसहितको व्यङ्ग्य समेत गर्नुभएको थियो । पूर्वअर्थमन्त्री महतको व्यङ्ग्यपछि वर्तमान अर्थमन्त्री विष्णु पौडेलले सरकारको बचाउ गर्दै राष्ट्र बैंक र गभर्नरलाई कुनै दबाब नदिएको भन्दै यो वा त्यो गर भन्न नमिल्ने तर्क गर्नुभयो ।
पूर्वअर्थमन्त्री महतसँगै बैठका उपस्थित अन्य सांसदहरुले समेत वित्तिय अराजकता बढ्दै गएको तर्क गरेका थिए ।