images
images

मन्थलीका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारदेखि सम्पति शुद्धिकरण विभागसम्म उजुरी

  • १७ भाद्र २०७९, शुक्रबार १५:२०

रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलविरुद्ध अख्तियारदेखि सम्पति शुद्धिकरण विभागसम्म उजुरी  परेको  छ ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध अख्तियारमा ४ वटा र सम्पति शुद्धिकरण विभागमा एउटा गरी ५ वटा उजुरी परेको हो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाका नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएको हो । त्यसमध्ये अख्तियारको टंगालस्थित कार्यालयमा तीन र बर्दिवासमा एक उजुरी परेको छ । उनले मन्थली नगरपालिकामा रहेर कार्यसम्पादन गरेको दुई वर्ष भन्दा बढी भएको छ । सो क्रममा पालिकाभित्र निमार्णाधिन सडक, भवन, लगायतका विकास निमार्णमा उपभोक्ता समिति र निमार्ण व्यवसायीमार्फत लाखौं कमिशन लिने गरेको उजुरीकर्ताले बताएका छन् ।

पौडेलले कार्यालयको गाडी मर्मत र इन्धनमा नक्कली फर्जी बिल बनाई लाखौं रकम भ्रष्टाचार गर्ने गरेको साथै कार्यालयमा आवश्यक नै नभएका फर्निचर र स्टेशनरी सामाग्री बजार मूल्यभन्दा बढीमा खरिद गरेको बिल राखी भुक्तानी गरेर व्यवसायीसँग रकम असुल्ने गरेको उजुरीमा उल्लेख छ । यसैगरी, उनीमाथि नगरसभाबाट पारित नै नगराई योजनाहरु उपभोक्ता समिति र निमार्ण व्यवसायीलाई दिएर लाखौं रकम कमिशन लिने गरेको, अतिथि सत्कारको नाममा लाखौं रकम नियम विपरीत कार्यालयबाट लिई भ्रष्टाचार गरेको आरोप छ ।

अधिकृत पौडेलले आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरीको विषयमा अख्तियारबाट जिल्ला प्रशासन कार्यालय रामेछापमा पत्राचार आएको र अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो ।