काठमाडौं । बाँकेको नरैनापुरमा झाडापखालाका कारण एकै दिन ४ जनाको मृत्यु भएको छ ।
नरैनापुर–३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी भएकोमा हिजो एकै दिन ४ जनाको मृत्यु भएको हो । स्थानीय हरिराम पासीको श्रीमती २५ वर्षीया रुसा पासी र उनकी छोरी ढेड वर्षीया नन्दनी पासी, ६० वर्षीया शान्ती पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।
भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी पाएपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेका छन् । अत्याधिक गर्मी र खानेपानीमा केही गडबढी तथा फोहोर पानीका गाउँमा झाडापखाला फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।