काठमाडौँ । नक्कली नोट बनाउँदै गरेका दुई भारतीय सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही प्रहरीले नक्कली नोट बनाउँदै गरेको अवस्थामा भारतीय सीमा क्षेत्रबाट ८ जनालाई नियन्त्रणमा लिएको हो । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, कागेश्वरी मनहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, ललितपुरको कुपनडोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका –५ का ३७ वर्षीय अमिर खत्री, सर्लाहीका ३२ वर्षीय जर्नाधन सिंह र रौतहटका ३७ वर्षीय विशाल राई पक्राउ परेका हुन् ।
यस्तै, भारतीय नागरिकहरु ४० वर्षीय सुवोध कुमार र ४९ वर्षीय पप्पु भनिने राजिव ठाकुरलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रबिन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आठै जनालाई भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुवनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित पक्राउ गरिएको हो । मधुबनीमा सिञ्चाईका लागि बोरिङ राख्न बनाईएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भईरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई केही नगद, र नक्कली नोट बनाउने केमिकल सहित पक्राउ गरेको हो ।
प्रहरीले घटनास्थलबाट एक हजार नोटको साईजमा काटिएका कागज १४ थान, विभिन्न रंगको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपैयाँ तथा १० थान मोबाईल, एउटा स्कारपियो र दुई भारतीय मोटरसाईकल बरामद गरेको छ । शनिबार राति पक्राउ परेका उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको एसपी सिंहले जानकारी दिनुभयो ।