images
images

बागमती प्रदेश डेंगीको उच्च जोखिममा, दोलखामा ११ जना संक्रमित

दोलखा । बागमती प्रदेश डेंगी संक्रमणको उच्च जोखिममा परेको छ ।

पछिल्लो आठ महिनामा मुलुकभर ६ हजार भन्दा बढिमा संक्रमण पुष्टी हुँदा बागमती र गण्डकी प्रदेश उच्च जोखिममा परेको हो । कुल संक्रमितमध्य दुई प्रदेशमा मात्रै २ हजार ९५४ जना संक्रमित भेटिएका छन् । जुन कुल संक्रमणको ४६.५ प्रतिशत हो । त्यसमध्य बागमती प्रदेशमा मात्रै १६ सय २३ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । बागमती प्रदेशभित्र पनि काठमाडौँ र चितवानमा संक्रमितको संख्या बढि रहेको छ । जसअनुसार चितवनमा ५१७ र काठमाडौँमा ५११ जनामा डेंगी संक्रमण देखिएको छ ।

यसैबीच, दोलखामा डेंगी संक्रमितको संख्या ११ पुगेको छ । साउनदेखि हालसम्मको डेढ महिनाको अवधिमा जिल्लामा ११ जनामा डेंगी संक्रमण देखा परेको हो । संक्रमितमध्य ८ जना उपचारपछि घर फर्किसकेका छन् भने ३ जना उपचाररत रहेको जिल्ला जनस्वास्थय कार्यालय दोलखाको जनस्वास्थ्य अधिकृत सुजिना तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालिञ्चोक गाउँपालिकाकी एक महिला र बैतेश्वरका दुई पुरुष उपचाररत रहेका हुन् । हिमाली जिल्ला दोलखामा पनि डेंगीको संक्रमण देखिएकाले सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय दोलखाले आग्रह गरेको छ । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जमेको पानी, फोहोरका कारण लामखुट्टे फैलिन्छ । त्यसैले घर वरिपरि पानी जम्ने खाल्डो छ भने पुर्नुपर्छ ।

पानीको ट्याङकी, दहीको कतारो, बाल्टिन, ड्रम आदीमा बिर्को लगाएर मात्रै राख्नुपर्छ । घर आँगन सफा राख्ने, पानी जम्ने खाल्डा पुर्ने, गमला, बरण्डा, छत आदीमा पनि पानी जम्न नदिने गर्दा लामखुट्टे फैलिन पाउँदैन । लामखुट्टेबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । यसको टोकाइबाट बच्ने मल्हमको प्रयोग गर्ने, झ्याल र ढोकामा जाली लगाउने र झुलभित्र सुत्ने गर्नाले लामखुट्टेबाट बच्न सकिन्छ ।