images
images

मन्त्रालयको जिम्मेवारी फेरिएपछि गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले दिए राजीनामा

  • १७ भाद्र २०८१, सोमबार १७:४५

पोखरा । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले मन्त्रालयको जिम्मेवारीप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका छन् ।

गण्डकी प्रदेश सरकारमा एमालेका मन्त्री थपिएएसँगै मन्त्रालयको जिम्मेवारी फेरिएपछि असन्तुष्ट बनेका मनाङेले पदबाट राजिनामा दिएका हुन् । यसअघि भौतिक पूर्वधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्रालय फेरिएपछि असन्तुष्ट मनाङेले आज स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री पाण्डेलाई राजिनामा बुझाएका हुन् । मनाङेको राजीनामा स्वीकृत भएको छ ।

मनाङेले कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाईएको भन्दै असन्तुष्टी जनाएका छन् । ५ जना मन्त्री हुँदा तेस्रो वरीयतामा रहेका उनलाई हाल छैठौँ वरीयतामा राखिएको छ । यसअघि, मनाङे रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । दिपक मनाङे मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।