images
images

दोलखाको भीमेश्वर र बैतेश्वरमा स्क्रब टाईफसको संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

दोलखा । दोलखामा स्क्रब टाईफसका बिरामीहरु बढ्दै गएका छन् ।

पछिल्लो समय भीमेश्वर नगरपालिकाका चार जनामा स्क्रब टाईफस संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्क्रब टाईफस संक्रमितमध्य पाँच महिला र चार जना पुरुष रहेका छन् । केही समयअघि पशुपति चौलागाईँ स्मृती अस्पतालमा परीक्षण गर्दा भीमेश्वर नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत सुजिना तमाङले जानकारी दिनुभयो ।

पछिल्लो समय भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकामा स्क्रब टाईफसको संक्रमण देखिएको छ । दोलखामा पहिलो पटक यही साउन १ गते बैतेश्वर गाउँपालिकाकी एक महिलामा स्क्रब टाईफस देखापरेको थियो । बैतेश्वर अस्पतालमा रगत परीक्षण गर्दा स्क्रब टाईफस पुष्टि भएकी उनी उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।

यस्तै, साउन अन्तिम साता दोलखाको जिरी र बैतेश्वरका दुई जनामा स्क्रब टाईफस संक्रमण देखिएको थियो । संक्रमित जिरीकी महिला र बैतेश्वरका एक पुरुष पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्क्रब टाईफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

स्क्रव टाईफसको संक्रमण भएमा कडा ज्वरो आउने, आँखा रातो हुने, लगातार टाउको दुखिरहने, पेट दुखाई र झाडापखालाले सताउने, स्वास फेर्न समस्या हुने, जोर्नि र मांशपेशी दुख्ने, शरीरमा बिबिरा देखिने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखिने गर्दछ ।

२०७२ सालको विनाशकारी भूकम्प पछि नेपालमा यो रोग देखा परेको थियो । यो रोगलाई महामारीको रुपमा फैलिन नदिनका लागि आफ्नो घर वरपर फोहोर र झाडी सफा गर्ने तथा मुसा नियन्त्रण गर्न जनस्वास्थ्य कार्यालय दोलखाले आग्रह गरेको छ ।