images
images

उच्च सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाको अनुरोध

  • १६ आश्विन २०८१, बुधबार १८:१५

जिरी(दोलखा) । जिल्ला प्रशासन कार्यालय दोलखाले उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले अझै भारी वर्षाको प्रक्षेपण गरेकोले जोखिम टरिनसकेको अवस्थामा स्थानीय प्रशासनले सुचना जारी गर्दै उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्धारा हस्ताक्षरित सुचनामा असोज १० गतेदेखिको अति भारी वर्षाका कारण धेरै स्थानमा जमिन गलेकाले सामान्य वर्षा हुँदा समेत ठूलो पहिरो र खोलामा बाढीको जोखिम हुने हुँदा अझै केही दिन सर्तकता अपनाउन भनिएको छ ।

साथै, यात्रा गर्दा सावधानीपूर्वक गर्न, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी साधन रोकी वर्षा रोकिएपछि मात्रै यात्रा गर्न र नदीकिनारमा एक्कासी बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ ।

विशेषगरी दोलखाको उत्तरी क्षेत्र गोगंर–लामाबगर सडक खण्डमा अविरल वर्षाले धाँजा फाटेको र धस्सिएको देखिएकोले फेरी ठूलो वर्षा भएको खण्डमा गोंगर–जगत–सिंगटी बजार लगायतका नदि तटीय क्षेत्रमा ठूलो क्षतिको सम्भावना छ । उक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।