images
images

दोलखाको मतगणनाः गठबन्धनका उम्मेदवारको अग्रता

  • १६ मंसिर २०७९, शुक्रबार ०६:१७

दोलखा । दोलखामा मतगणना जारी छ ।

गएराती ९ बजेदेखि सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पमा मतगणना जारी रहेको हो । जारी मतगणनामा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । बिहान ६ बजेसम्म प्रतिनिधिसभाको ३ हजार ६ सय ४३ गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी नेता गंगा कार्की (विश्व)ले २ हजार ३ सय ३९ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९ सय ३२ मत मात्रै प्राप्त गरेका छन् । कार्की भन्दा शिवाकोटी १ हजार ४ सय ७ मत पछाडी रहेका छन् ।
यस्तै, प्रदेशसभा क्षेत्र नम्बर १ को ३ हजार १ सय १७ गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुन्दराज काफ्लेले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नरबहादुर श्रेष्ठले १ हजार ५४ मत प्राप्त गरेका छन् । काफ्ले र श्रेष्ठ बिचको मतान्तर ६ सय ९ देखिएको छ ।

प्रदेशसभा क्षेत्रको २ को ३ हजार ६ सय ५६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले १ हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वर्मा लामाले १ हजार ५ सय २ मत प्राप्त गरेका छन् । हाल गौरीशंकर र शैलुङ गाउँपालिकाको मतगणना जारी छ ।