images
images

दोलखा सहित बागमती प्रदेशका ९ जिल्लामा ३३ मानवअधिकार उल्लंघनका उजुरी

  • १६ मंसिर २०७९, शुक्रबार ०८:०७

जिरी (दोलखा) । बागमती प्रदेशमा दोलखा सहितका ९ जिल्लामा ३३ वटा मानवअधिकार उल्लंघनका घटना सम्बन्धी उजुरी परेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयले २०७८/७९ को उजुरीको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । प्रदेशको त्रैवार्षिक तुलनात्मक कार्य विवरण सार्वजनिक गर्दै कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले गत वर्ष सबै भन्दा बढी काठमाडौंको ८ वटा मानवअधिकार उल्लघंनको उजुरी परेको जानकारी दिनुभयो । यस्तै, ललितपुरको ७, नुवाकोट र चितवनको ४/४, सिन्धुपाल्चोकको ३, काभ्रेपलाञ्चोक, दोलखा र धादिङको २/२ तथा रामेछापको एउटा गरी ३३ वटा उजुरी परेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा ६८ वटा उजुरी परेकोमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ९८ वटा उजुरी परेको थियो । कार्यालयमा परेका उजुरीमध्ये सबैभन्दा धेरै नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी रहेको प्रमुख अधिकारीको भनाइ छ ।

तर, बागमती प्रदेशको ४ जिल्लामा भने मानवअधिकार उल्लंघनका उजुरी शून्य रहेको छ । बागमती प्रदेशका ४ वटा जिल्लामा मानवअधिकार उल्लंघनका घटनासँगसम्बन्धी उजुरी नै नपरेको पाइएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मकवानपुर, रसुवा, सिन्धुली र भक्तपुर जिल्लाको कुनै पनि उजुरी नपरेको हो ।