
दोलखा । तत्कालीन डिभिजन वन कार्यालय दोलखाकी वन अधिकृतलाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
अख्तियारको टोलीले तत्कालीन डिभिजन वन कार्यालय दोलखाकी वन अधिकृत सन्तमाया श्रेष्ठलाई २०७६ साल फागुन २९ गते भक्तपुरको मध्यपुर ठिमीबाट घुस रकम सहित नियन्त्रणमा लिएको थियो । दोलखाबाट बा १ झ ७६८५ नम्बरको कारमा सवार उनलाई अख्तियारको टोलीले २ लाख ३ हजार ५ सय नगद सहित नियन्त्रणमा लिएको थियो । दोलखाका काठ व्यापरीसँग २ लाख ३ हजार रकम उठाएर वन अधिकृत श्रेष्ठ काठमाडौं आउँदै गरेको सुचनाको आधारमा खटिएको अख्तियारको टोलीले त्यसबेला उनलाई भक्तपुरबाट नगद सहित नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेकोमा विशेष अदालतले श्रेष्ठलाई सफाई दिएपछि अख्तियार सर्वोच्च अदालतमा पुगेको हो ।
तत्कालीन वन अधिकृत श्रेष्ठले बरामद भएको रकम खुलाउन नसकेपछि विशेष अदालतले सफाई दिनु त्रुटीपुर्ण रहेको अख्तियारको जिकिर छ । श्रेष्ठले अख्तियारले बरामद गरेको रकममध्ये ५० हजार बन रक्षक नारायण शाहसँग लिएको र बाँकी रकम तलब वापत माघको दोस्रो साता बैंकबाट निकालेको ६ लाख ६६ हजार रुपैँयामध्ये बाँकी रहेको रकम आफुले बोकेर हिँडेको दावी गरेकी थिइन् । तर बयानका क्रममा शाहले श्रेष्ठलाई कुनै रकम नदिएको र श्रेष्ठले बै.कबाट निकालेको रकम उनी पक्राउ परेपछिको भएको अख्तियारले दावि गरेको छ ।
विशेष अदालतले वन अधिकृत श्रेष्ठले को–कोसँग घुस लिएको प्रमाण खुलाउन नसकेकोे र बैंकबाट तलब निकालेको देखिएको आधारमा उनलाई सफाई दिएएपछि अख्तियार सर्वोच्च अदालतमा पुगेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला बदर हुनुपर्ने माग सहित पुनरावेदन गरेको छ ।