
सोलुखुम्बु । पछिल्लो एक सातामा मात्रै २ सय भन्दा बढि विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् ।
पर्यटकको संख्या न्युन हुने यो समयमा पनि ठुलो संख्यामा पर्यटकहरु भित्रिएका हुन् । पछिल्लो एक सातामा मात्रै २ सय २८ जना पर्यटक सगरमाथा क्षेत्रमा प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र १३७ पुरुष गरि २२८ पर्यटक भ्रमणका लागि सोलुखुम्वुको विभिन्न क्षेत्रमा पुगेका हुन् ।
उड्यन प्राधिकरण कार्यालय लुक्लाका अनुसार पुस ११ गते २८ विदेशी पर्यटक लुक्ला ओर्लिएकोमा १२ गते ३१, १३ गते ३० तथा १४ गते सबैभन्दा बढि ६६ जना पर्यटक भित्रिएका थिए । यस्तै, १५ गते ३६, १६गते १९, १७ गते ४ र १८ गते १४ विदेशी पर्यटक लुक्ला ओर्लिएका थिए ।
अफसिजनमा विगतमा पर्यटक शुन्यजस्तै हुने गरेपनि यो वर्ष पर्यटक आगमन राम्रो देखिएपछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । चिसो बढेसँगै खुम्वुको तापक्रम माईनसमा झरेपनि सो क्षेत्र पर्यटकको रोजाईमा परिरहेको छ । चिसो बढेसँगै दैनिकी कष्टकर बनेपछि केही व्यवसायी होटल बन्द गरेर जाडो छल्न काठमाडौँसहित अन्यत्र गएपनि पर्यटक आउने क्रम भने अझै जारी छ ।