काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरेसम्म मतदाता नामावली संकलनकार्य जारी रहने भएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा नहुँदासम्म फोटो सहितको मतदाता नामावली संकलनकार्य जारी राख्ने भएको हो ।कानुन अनुसार मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । आयोगले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।
सो प्रस्तावलाई सरकारले सकारात्मक रुपमा लिएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले विशेष अभियान सञ्चालन गरी गत मंसिर १७ देखि १९ गतेसम्म पालिकास्तरमै प्राविधिक खटाएर नामावली संकलन गरेको थियो । सो अभियानबाट ८ लाख ४८ हजार थप मतदाताको विवरण संकलन भएको निर्वाचन आयोगले जनाएको छ ।