images
images

अपर तामाकोसीले रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्नेगरी प्रक्रिया थाल्यो

  • २० माघ २०७९, शुक्रबार ०८:५१

जिरी (दोलखा) । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले दोलखास्थित २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्नेगरी प्रक्रिया थालेको छ ।

राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले गौरीशंकर गाउँपालिका भएर बग्ने रोल्वालिङ खोलामा ६ अर्ब २० करोड रुपैयाँ लागतमा आयोजना निर्माण गर्ने भएको हो । विद्युत विकास विभागले सूचना जारी गर्दै ३५ दिनभित्र सरोकारवाला निकायहरुलाई लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । आयोजनाबाट १०५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाका मुख्य संरचनाहरु रोल्वालिङ खोलाको दायाँ किनारमा निर्माण हुनेछ । रोल्वालिङ खोलामा बाँध बाधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु ग्राभेल ट्रयाप, हेडरेस टनेल, सेटलिङ बेसिन, पेनस्टक पाइप हुदै विद्युत गृहमा लगिनेछ ।

आयोजनाको कुल हेड २०७ दशमलव १८ मिटर र खुद हेड २०५ दशमलव १९ मिटर हुने विद्युत विकास विभागले जनाएको छ । २५३ मिटर आयोजनामा पेनस्टक राखिनेछ । विद्युत उत्पादनपछि ८ दशमलव ४ किमी ३३ केभी प्रसारणलाइन निर्माण गरी विगु गाउँपालिका–१ स्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रस्तावित ३३/२२० केभी सबस्टेसनमा जोडिनेछ ।

विद्यतु विभागका अनुसार २०८४ साल मंसिर १ गतेभित्र विद्युत उत्पादनको लक्ष्य लिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको विभागले जनाएको छ ।