images
images

सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा आशा बढेको प्रधानमन्त्रीको भनाई

  • २० माघ २०८०, शनिबार १४:४९

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्पष्ट द्दृष्टिकोणसहित अघि बढेको बताउनुभयो ।

सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थाैलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको भन्दै उहाँले सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभयो । कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको भन्दै उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको र नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँको भनाइ छ । आफूले प्रधानमन्त्रीको रुपमा द्धिपक्षीय र बुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिदँै उहाँले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति, र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले दुधौली नगर क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको भन्दै दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताउनुभयो ।