images
images

माओवादी बैठकः बागमती प्रदेश ईञ्चार्जमा शाक्य, स्थानीय तह प्रमुख उपप्रमुखको भेला गरिने

  • २१ माघ २०८१, सोमबार १७:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बसेको पदाधिकारी बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसअनुसार बागमती र मधेश प्रदेशका ईञ्चार्ज फेरिएका छन् । बागमती प्रदेश ईञ्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिईएको छ भने मधेश प्रदेशमा उपमहासचिव मातृका यादवलाई प्रदेश ईञ्चार्जको जिम्मेवारी तोकिएको छ । यसअघि बागमती प्रदेशको ईञ्चार्जमा अग्निप्रसाद सोपकोटा रहेका थिए । अन्य प्रदेशमा भने ईञ्चार्जहरु यथावत रहेका छन् ।

कोशीमा हरिबोल गजुरेल, गण्डकीमा दीननाथ शर्मा, लुम्विनीमा चक्रपाणी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदुरपश्चिम प्रदेशमा गिरिराजमणी पोखरेललाई ईञ्चार्जमा यथावत राखिएको हो ।

यसैगरी, उपत्यका विशेषमा जयपुरी घर्ति, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको ईञ्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् । महासचिव माथिका पदाधिकारीले भूगोलको जिम्म नलिने नीतिगत निर्णय भएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख उपप्रमुखको भेला गर्ने निर्णय पनि गरेको छ । पदाधिकारी बैठकले आगामी फागुन ९ गते पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेला गर्ने निर्णय गरेको हो । माओवादीले प्रमुख उपप्रमुख गरि १२३ स्थानीय तहको नेतृत्व गरेको छ ।

आजको बैठकले फागुन १२ गतेदेखि जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । हुलाकी लोकमार्गमा आधारित भएर चलाईने अभियान अन्र्तगत फागुन १२ गतेदेखि झापाको कचनकवचबाट अभियान सुरु गरिने पार्टी पवक्ता अग्नी सापकोटाले जानकारी दिनुभयो ।