images
images

जिरी नगरपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डः पाँचौं पटक उचाल्यो सहिद स्मृतिले उपाधि

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार पाँचौ पटक सहिद स्मृति आवासीय माविले हात परेको छ ।

जिरी नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी यो पटक पनि जिरी ६ स्थित सहिद स्मृति आवासीय माविले लिन सफल भएको हो । सहिद स्मृतिले यो सँगै लगातार पाँचौ पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी आफ्नो पोल्टामा पारिसकेको छ । जिरी नगरपालिका स्तरीय अन्तर विद्यालय छैटौं राष्ट्रपति रनिङ शिल्डमा प्रतियोगिता २०८१ मा सहिद स्मृतिले १७ स्वर्ण, ५ रजत र २ कास्य गरी २४ पदक प्राप्त गरेको छ ।

उपविजेता बनेको जिरी ६ स्थित जिरी माविले ७ स्वर्ण, ७ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ । तृतीय स्थान लिन सफल जिरी–५ स्थित सरस्वती माविले ३ स्वर्ण, २ रजत र ३ कास्य गरी ८ पदक लिएको छ । यसैगरी, जिरी ६ स्थित जेम एकेडेमीले २ स्वर्ण, २ रजत र ५ कास्यगरी ९ पदक, जिरी–२ एलुङस्थित बौद्धभुवनेश्वरी माविले ८ रजत र ९ कास्य गरी १७ पदक प्राप्त गरेका छन् ।

यस्तै, जिरी–१ स्थित गर्जाङढुंगा मावि र जिरी–९ स्थित ठूलोपातल माविले ६/६ पदक लिएको छ । जसअनुसार गर्जाङढुंगाले २ रजत र ४ कास्य तथा ठूलोपातलले एक स्वर्ण, एक रजत र ४ कास्य प्राप्त गरेको हो । जिरी ५ स्थित ढुगेश्वरी माविले २ रजत, ३ कास्य गरी ५ र जिरी–९ स्थित कालिका माविले एक रजत पाएको छ ।

विजेता तथा खेलाडीहरुलाई आजै एक समारोहका बीच नगरप्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र जिरी माविका प्रधानाध्यापक कुमार जिरेल लगायतले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा विजेताले ३५ हजार, उपविजेताले २५ हजार, तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

यही माघ १८ गतेबाट जिरी माविमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रतिनिधिसभा सांसद गंगा कार्कीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा जिरी नगरपालिकाभित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।