images
images

सहिद स्मृति आवासीय माविको १५ औं वार्षिक उत्सव सम्पन्न

  • २० फाल्गुन २०८०, आईतवार २०:५५

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको १५ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

जिरी नगरपालिका–६ स्थित बुलडाँडामा सञ्चालनमा रहेको सहिद स्मृति आवासीय माविले आज १५ औं विद्यालयको वार्षीक उत्सव, अविभावक दिवश तथा सहिद सप्ताह मनाएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सल्लाहकार इन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक केन्द्र ज्योति खड्काले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहिद स्मृति आवासीय माध्यमिक विद्यालय सहिदका बालबालिका र बाबुआमा गुमाएका टुहुरा बालबालिकाको सहाराको केन्द्र बनेको छ । जिरीमा रहेको सहिद स्मृति आवासीय माध्यमिक विद्यालय बागमती प्रदेशभित्र एक मात्रै विद्यालयको रुपमा रहेको छ । शहिद स्मृति आवासीय माविले जनयुद्ध तथा जनआन्दोलनका सहिद, वेपत्ता, घाइते तथा अपाङ्गता भएका परिवारको बालबालिका र बुबाआमा गुमाएका अभिभाविक विहिन वालवालिकालाई शिक्षा प्रदान गर्दै आएको छ । साथै, यो विद्यालयमा २०७२ सालको विनाशकारी भूकम्पमा परि बाबुआमा गुमाएका, लोपोन्मुख, अति सिमान्तकृत, दलित, विपन्न पारिवारका बालबालिकाहरुलाई आवासीय सुविधा सहित निशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

१५ औं विद्यालय वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर बहादुर पाख्रिन, माओवादी केन्द्र दोलखाका नेताहरु ज्योति श्रेष्ठ, सन्तोष केसी, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठ, जिरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष निमपल्दे शेर्पा, वडा ३ का अध्यक्ष खेटराज घिमिरे, वडा नम्बर ६ का अध्यक्ष मरिज बहादुर खड्का र वडा नम्बर ८ का अध्यक्ष कृष्ण कुमार खत्री लगायतको सहभागीता थियो ।