images
images

सरुवा र काजका कर्मचारीलाई ५ दिनभित्र रमाना दिन निर्देशन, कार्यान्वयन नगरे हाकिमलाई कारवाही

काठमाडौँ । सरकारले सरुवा र काजमा खटिएका कर्मचारीलाई रमाना लिनेसम्बन्धी ४ बुँदे कडा निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सँघदेखि स्थानीय तहसम्मका सबै निकायलाई कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी गरेको हो । संघीय तथा प्रादेशिक कर्मचारी शाखाद्धारा प्रेषित पत्रमा पदस्थापन तथा सरुवा, काज खटाईएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐनअनुसार कामकाजमा खटाईएका कर्मचारीलाई हालसम्म रमाना नदिईएको भन्दै पुनः ताकेता गरिएको छ ।

सरुवा तथा काजमा खटिएका कर्मचारीलाई ५ दिनभित्र रमाना दिन भनिएको छ । मन्त्रालयले रमाना अवधि गुज्रिएका कर्मचारीलाई किरिया बिदा, विरामी बिदा र प्रसुती बिदाबाहेक अन्य विदा स्वीकृति नगराउन निर्देशन दिएको छ ।

४ बुँदे निर्देशमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना भई नजाने कर्मचारीहरुलाई उपलव्ध गराउने सेवा, सुविधा र पारिश्रमिक सम्बन्धि कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । साथै निर्णय कार्यान्वयन नगर्ने/नगराउने विभागीय प्रमुख तथा कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई कारवाही गर्न पनि भनिएको छ ।