रामेछाप । रामेछापमा दुर्घटनापछि दुईवटा मतदानस्थलका लागि नयाँ कर्मचारी र निर्वाचन सामाग्री पठाइएको छ ।
मतदानका लागि खटाइएका कर्मचारी सवार गाडी सोमबार दुर्घटनामा परेपछि रामेछापका २ वटा मतदानस्थलका लागि आज नयाँ निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको हो । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यी दुवै मतदानस्थलमा आज कर्मचारीसहित निर्वाचन सामग्री पठाइएको हो ।
सोमबार रामेछाप नगरपालिका–२ स्थित सिरुवारी मतदानस्थलको क र ख मतदान केन्द्र तथा रामेछाप नगरपालिका–३ साँघुटारस्थित मतदानस्थलको क र ख मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको निशान गाडी दुर्घटनामा परेको थियो ।
सबै निर्वाचन सामग्री सकुशल
मतदान केन्द्रका लागि मतपत्र र निर्वाचन सामग्री बोकेर गएको ना ७ ख ६७६८ नम्बरको निशान गाडी मोड नपुगी ब्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी आवश्यक कर्मचारी र निर्वाचन सामग्री आज समयमै पठाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अनुसार दुर्घटनास्थलबाट मतपत्र, मतदाता नामावली लगायतका सबै निर्वाचन सामग्री सोमबार राति सकुशल अवस्थामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा ल्याइएको थियो ।










