भक्तपुर । भक्तपुरको मध्यपुरथिमीबाट चार जना लागुऔषध सहित पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले उनीहरुलाई मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का ३३ वर्षीय सुनिल थापा, भक्तपुरको लोकन्थलीका ३३ वर्षीय आशिष पाण्डे, इमाडोलका २१ वर्षीय राशि गौतम र काठमाडौँको नक्सालका २१ वर्षीय युनिक पोखरेल रहेका छन् ।
पक्राउ परेका मध्ये धरानका थापा जेन्जी आन्दोलनका क्रममा फरार भएका व्यक्ति हुन् । लागुऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थापा आन्दोलनपछि फरार भएका थिए ।जस्ताको टहरामा डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेट समेत फेला पारेको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले जानकारी दिएका छन् । पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।










