काठमाडौं । सरकारले लामो दुरीका सार्वजनिक सवारीका साधनको भाडा १० प्रतिशतले बढाएको छ ।
यातायात व्यवस्था विभागले स्वचालित भाडादर कायम गर्दै आज यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मुल्यबृद्धिलाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने सवारीका साधनको भाडा बढाउने निर्णय गरिएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अब पेट्रोलियम पदार्थमा न्युनतम पाँच प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडादर अनुसार गाडी भाडा समायोजन हुनेछ । यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैँया मुल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो ।
सो व्यवस्था प्रभावकारी नभएपछि विभागको प्रस्तावमा मन्त्रालयले पाँच प्रतिशत मुल्य घटबढ भए मात्रै समायोजन गर्ने स्वचालित प्रणाली लागु गरेको हो । यातायात व्यवस्था विभागले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भाडा बढाएको हो । तर यो नियम अन्तर प्रदेशमा चल्ने लामा दुरीका सार्वजनिक सवारीका साधनमा मात्रै लागु हुनेछ ।