images
images

दोलखाका स्थानीय तहले आगामी वर्ष १ अर्ब ९१ करोड बजेट पाउने, कुन तहलाई कति ?

दोलखा । दोलखाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ९१ करोड बढि बजेट पाउने भएका छन् ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष स्थानीय तहलाई दिने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित विवरण अनुसार दोलखाका स्थानीय तहले १ अर्ब ९१ करोड १६ लाख पाउने भएका हुन् । जिल्लाका ९ स्थानीय तहले राजश्व बाँडफाँट वापत ८२ करोड ४३ लाख र वित्तिय समानीकरणतर्फ १ अर्ब ८ करोड ७३ लाख पाउने भएका छन् ।

आगामी आर्थिक वर्ष संघीय सरकारबाट मुलुकभरका स्थानीय तहमा १ खर्ब ६७ अर्ब ५ करोड विनियोजन हुनेमा दोलखाले सो बराबरको रकम पाउने भएको हो ।

राजश्व बाँडफाँडमा सबैभन्दा बढी बिगुलाई

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको अनुमानित रकम अनुसार दोलखामा विगु गाउँपालिकाले सबैभन्दा बढी ११ करोड ७० लाख बजेट पाउने भएको छ भने सबै भन्दा कम मेलुङ गाउँपालिकाले ७ करोड ३५ लाख बजेट पाउनेछ ।

गौरीशंकर गाउँपालिकाले राजश्व बाँडफाँटतर्फ संघीय सरकारबाट ११ करोड ४० लाख पाउँदा भीमेश्वर नगरपालिकाले १० करोड, कालिञ्चोक गाउँपालिकाले ९ करोड ३ लाख, जिरी नगरपालिकाले ८ करोड ९५ लाख, तामाकोशी गाउँपालिकाले ८ करोड ३२ लाख तथा शैलुङले ८ करोड ८ लाख र बैतेश्वर गाउँपालिकाले ७ करोड ६० लाख बजेट पाउनेछ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सुत्रमा आधारित भई मुलुकका ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँटतर्फ ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अनुमान गरिएको छ ।

वित्तीय समानीकरणतर्फ १ अर्ब ८ करोड 

यसैबीच, यसैबीच, मुलुकभरका स्थानीय तहलाई वित्तीय समानीकरणतर्फ न्युनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान समेत गरी ८८ अर्ब ९६ करोड ८० लाख हस्तान्तरण हुनेमा दोलखाका स्थानीय तहले १ अर्ब ८ करोड ७३ लाख पाउने भएका छन् । जसअनुसार जिल्लाका ९ स्थानीय तह मध्य सबैभन्दा बढी भीमेश्वर नगरपालिकाले १५ करोड ८९ लाख पाउने भएको छ भने कालिञ्चोक गाउँपालिकाले १२ करोड ५५ लाख पाउनेछ ।

यसैगरी, विगु गाउँपालिकाले १२ करोड २७ लाख, गौरीशंकर गाउँपालिकाले १२ करोड १२ लाख र तामाकोशी गाउँपालिकाले ११ करोड ४७ लाख पाउने भएको छ । आगामी आर्थिक वर्ष वित्तिय समानीकरणतर्फ शैलुङ गाउँपालिकाले ११ करोड २४ लाख पाउँदा बैतेश्वरले ११ करोड २१ लाख तथा मेलुङले ११ करोड १४ लाख पाउने भएको छ ।

वित्तिय समानीकरणतर्फ जिल्लाका अन्य पालिकाको तुलनामा जिरी नगरपालिकाले सबैभन्दा कम १० करोड ८४ लाख बजेट पाउनेछ ।