
काठमाडौँ । वायु प्रदुषणको असर उच्च हुँदै गएपछि विज्ञहरुले त्यसको नियन्त्रणबारे सुझाव दिएका छन् ।
कार्यबाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विज्ञहरुसँग गरेको छलफलमा यस्तो सुझाव आएको हो । छलफलका क्रममा विज्ञहरुले यातायातमा तत्काल जोर–बिजोर प्रणाली लागु गर्न सुझाव दिएका छन् । साथै सातामा दुई दिन बिदा दिनुपर्ने उनीहरुको सुझाव छ । केही सातायता वायु प्रदुषण उच्च भएपछि सरकारले आज प्रदुषण घटाउने विषयमा विज्ञहरुसँग छलफल गरेको थियो ।
छलफलका क्रममा वातावरणविद डा. भुषण तुलाधरले तत्काल यातायातमा जोर–बिजोर प्रणाली तथा सातामा दुई दिन बिदा नदिने हो भने वायु प्रदुषण झन् घातक बन्ने बताउनुभयो । रौँभन्दा तीन गुणा मसिनो धुवाँ धुलोका कण प्रतिघण्टा भएकाले मानव स्वास्थ्यका लागि अत्याधिक घातक भएको उहाँको भनाई छ ।
वायु प्रदुषणका कारण मानिसहरुमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने तथा श्वसाप्रश्वास लगाएतका जटिल समस्या देखिन थालेको छ ।