भक्तपुर । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ ।
महासङ्घले शुक्रवार सरोकारवालासँग छलफल गर्दै उक्त निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो । सरकारले विहिवार सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने परिपत्र जारी गरेको थियो ।
सोही विषयमा छलफल गर्दै सरोकारवालाले सरकारको उक्त कदम विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । छलफलमा पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णयले सञ्चारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउन माग गरिन् ।










