images
images

सेतो वस्त्रमा रहेका ओलीको कालो वर्षः वालुवाटारको शानदेखि सत्ता र शक्तिको अवसान

लामो समययता निरन्तर सत्ता र शक्तिमा रहेका केपी शर्मा ओलीको ओरालो यात्रा सुरु भएको छ ।

२०८२ सालले ओलीलाई बालुवाटारबाट कारागारसम्म पु¥याएको छ । हुन त ओली कारागारको बसाईमा होईन अस्पतालमा छन्, तर पनि उनले यही वर्ष वालुवाटारको सानदेखि शक्तियात्राको अवसानसम्म भोगेका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलन उनको जीवनमा अभिशाप बनेर आयो ।

जेनजी आन्दोलनले उनलाई सत्ताबाट मात्रै होईन घरबाट समेत बाहिरिन बाध्य बनायो । सो आन्दोलनमा उनको बालकोट र झापामा भएका घर जलाईएको थियो । आन्दोलनबाट घरबारबिहिन बनेका ओली भक्तपुरको गुण्डुमा डेराको बासमा थिए । त्यहाँबाट पनि उनी अहिले बाहिरिनुपरेको छ ।

१४ वर्ष जेलदेखि चौथो पटक सरकारको नेतृत्व

गत भदौको जेनजी आन्दोलनपछि वालुवाटारबाट बाहिरिएका ओलीले अब फेरी त्यो वालुवाटारको जस्तो सान र शक्ति पाउने सम्भावना कमजोर बनेको छ । किनकी जेनजी आन्दोलनबाट सुरु भएको ओलीको ओरालो यात्राले निरन्तर पछ्याईरहेको छ ।

राजनीतिमा लागेर करिव १४ वर्ष जेल जीवन बिताएका ओलीले चार पटक सम्म प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गरे । राजनीतिका एक चतुर खेलाडी मानिने ओली १४ वर्षकै उमेरदेखि राजनीतिमा लागेका थिए ।

२०७२ भदौ २५ मा पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका केपी ओली पुनः २०८१ असार ३० मा चौथो पटक प्रधानमन्त्री बनेका थिए । तर, ओलीको जीवनमा पाँचौँ पटक प्रधानमन्त्री बन्ने अवसर तत्कालका लागि गुमेको छ । ओलीले जेनजी आन्दोलनका कारण गत भदौ २४ गते सरकारबाट बाहिरिनुप¥यो, सायद अब त्यो पदमा कहिल्यै फर्किन नपाउनेगरि ।

गुम्यो जनमत

सत्ताबाट बाहिरिएका ओलीले बलजफ्ती भएपनि पार्टीका नेता कार्यकर्ताको साथ त हाँसिल गरे । तर, जनताको साथ पाउन सकेनन् । गत मंसिरमा भएको महाधिवेशनबाट पार्टी अध्यक्ष त बने । तर, फागुन २१ बाट जनमत गुमाए ।

६ पटकसम्म निर्वाचन जितेर शक्तिमा रहेका ओलीलाई यो वर्षको फागुन २१ ले एकैपटक आकाशबाट भुइँमा बजारिदिएको छ । यसअघि त्यही जनमतको बलमा शक्तिलाई आफ्नो हातमा राखेर अघि बढेका ओलीलाई अहिले त्यही जनमतले नराम्ररी पछारेको हो ।

एकपछि अर्को दुःख

जनताको साथ गुमाएका ओलीमाथि लगत्तै अर्काे बज्रपात आईलाग्यो । उनले फागुन २९ मा पिताको साथ पनि गुमाए । निर्वाचनको परिणाम आएको केही समयमै ओलीले पीतालाई गुमाएका हुन् । फागुन २१ को निर्वाचनमा ओली आफ्नो बलियो पक्कड भएको क्षत्रमै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ४९ हजार बढी मतान्तरले पराजित भएका थिए ।

ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका बालेन शाहले प्रधानमन्त्रीको उत्सब मनाईरहँदा उनी पिताको निधनको शोकमा डुबिरहेका थिए । उनै बालेनले प्रधानमन्त्री बने लगत्तै पहिलो निर्णय मै जेनजी आन्दोलनको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषय समेटे ।

‘ज्यान सम्बन्धी कसुर’ को आरोप

पिताको मृत्युको शोकमा रहेकै बेला ओलीले पुनः अर्काे कष्टको सामना गर्नुपरेको छ । पिताको मृत्युको १५ दिनमै ओलीलाई जिन्दगीले अर्काे कठिन मोडमा धकेलेको हो । चैत १४ (शनिबार) को बिहानै उनी निवासबाटै पक्राउ परे । ओलीमाथि अहिले जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा ‘ज्यान सम्बन्धी कसुर’ मा अनुसन्धान भईरहेको छ ।

यी घटनाक्रमलाई हेर्दा पीताको मृत्युको शोकमा सेतो वस्त्रमा रहेका ओलीलाई २०८२ कालो वर्ष सावित भएको हो ।