
हेटौँडा । हेटौँडामा सडक भासिँदा गुडिरहेको पिक अप भ्यान वेपत्ता भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१६ र १७ नम्वर वडा जोडिएको गैरी गाउँमा सडक भासिएर पिकअप भ्यान गायब भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडी भासिँदै गएपछि चालक र सहचालकले भने हामफालेर ज्यान जोगाएका छन् । गाडी भासिएको ५ सेकेण्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्वरको डीआई गाडी निकाल्ने क्रममा झन झन भित्र पसेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
गाडी बेपत्ता भएको ठाउँमा जमेको दह कटाएर खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दा समेत फेला पार्न सकिएको छैन । सडकको दायाँबायाँ माछा पोखरी रहेकाले दुवै पोखरी समेत जोखिममा परेको छ ।