images
images

असहाय तथा विपन्न नागरिकका लागि १० प्रतिशत निःशुल्क शैया उपलब्ध गराउन निर्देशन

  • २० जेष्ठ २०८०, शनिबार ०९:४०

हेटौंडा । बागमती प्रदेश सरकारले असहाय तथा विपन्न नागरिकका लागि अस्पतालहरुलाई १० प्रतिशत निःशुल्क शैया उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गरी प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका अस्पतालहरुलाई १० प्रतिशत निःशुल्क शैया उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार प्रचलित मापदण्ड बमोजिम अस्पतालहरुमा उपचारका लागि जाने विपन्न, असहाय तथा वेवारिसे बिरामीहरुका लागि कुल शैयाको १० प्रतिशत शैया छुटाई निःशुल्क उपचार अनिवार्य रुपमा गराउन सूचनामा भनिएको छ । यस्तै, उपलब्ध सेवाहरुको विवरण तथा लाग्ने शुल्क समेत खुलाएको वडापत्र देखिने गरि संस्थाको अग्रभागमा राख्न मन्त्रालयले आग्रह गरेको छ ।

जनस्वास्थ्य सेवा नियमावली दफा १२ को उपदफा (२) बमोजिम मन्त्रालय वा मातहतका निकायबाट सञ्चालन अनुमति लिएका एवं नविकरण गरिएका स्वास्थ्य संस्थाबाट प्रचलित कानुन र मापदण्डका भएका उपचार तथा सम्पूर्ण सेवाहरु अनिवार्य कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ । सबै गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको भनाई छ ।

मन्त्रालयले प्रदेशभित्रका सर्पदंश उपचार केन्द्रहरुमा एन्टि स्नेक भेनमको आवश्यक मौज्दात व्यवस्थापनका लागि पनि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । मन्त्रालयले एन्टि स्नेक भेनम अभाव नहुने गरि व्यवस्थापन गर्न सर्पदंश उपचार केन्द्रहरुलाई पत्राचार गर्ने निर्णय गरेको हो ।