images
images

प्राचिन सहर दोलखावाट २८ वर्षअघि हराएको मूर्ति फिर्ता, श्रीपेच लगाएर गरियो पुनः स्थापना

  • २० जेष्ठ २०८०, शनिबार १४:४३

दोलखा । प्राचिन शहर दोलखाको कोर्छे टोलबाट २८ बर्षअघि हराएर बेलायतको लण्डन पुगेको बज्रधरको मूर्ति नेपाल फिर्ता ल्याएर पुनः स्थापना गरिएको छ ।

राजा जयन्द्रसिंह देवले स्थापना गरेको भनिएको बज्रधरको मूर्तिलाई हङकङवाट फिर्ता ल्याएर ऐतिहासिक दोलखा शहरमा पुनः स्थापना गरिएको हो । सो मूर्ति २०५२ साल भदौ १४ गते कोर्छे टोलबाट हराएको थियो । हराएको २८ वर्षपछि सो मूर्ति हङकङमा फेला परेको हो । लस्ट आर्टस् अफ नेपालले बज्रधरको मूर्ति हङकङमा प्रदर्शनीमा राखिएको विषय पत्ता लगाएको थियो । त्यसपछि दोलखाबाट प्रमाण पठाएपछि हङकङले बज्रधरको मूर्ति फिर्ता पठाएको हो । कोर्छे टोलका स्थानीय अनिलचन्द्र श्रेष्ठले मूर्ति फिर्ती अभियानको १० महिनाको प्रयास पछि दोलखा ल्याएर पुनः स्थापना गर्न सफल भएको बताउनुभयो ।

हङकङबाट मूर्ति फिर्ता आउने खवर पाएपछि कोर्छे टोलका स्थानीय मूर्ति लिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुगेका थिए । सो मूर्तिलाई हिजो भीमेश्वरको परिक्रम गराएर दुधले स्नान गरी मन्दिरको भण्डार घरमा श्रीपेच लगाएर राखिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । २८ बर्षअघि ऐतिहासिक एवँ पुरातात्विक महत्वको बज्रधरको मूर्ति हराए पनि श्रीपेच भने दोलखामै रहेको थियो ।

प्राचिन सहर दोलखाका स्थानीयले बज्रधरको मूर्तिलाई राजा इन्द्रसिंह देवले स्थापना गरेको भन्ने बिस्वास गर्दै आएका छन् । तर, ललितपुरका सौम्य बुद्ध मूर्तिका सिद्वहस्त न्हूछें शाक्यले बौद्ध परम्परामा शाक्यमुनि गौतम बुद्ध पछि दुई व्यक्तित्व बज्रधर र बोधिसत्वलाई महत्वपूर्ण मानिने उल्लेख गर्दै दोलखामा फिर्ता भएको मूर्ति तीनै दुईमध्ये एक बज्रधरको भएको र बज्रयान परम्परामा आधारित मूर्ति भएको बताएका छन् । तिव्वतियन बौद्ध परम्परा बज्रयानमा आधारित छ । शाक्यले भनेका छन्, ‘फिर्ता ल्याईएको बज्रधर र दोलखामा बज्रयान परम्परा अनुसन्धान बिषय हुन् ।’

दोलखाका संस्कृतविद् शान्तकृष्ण श्रेष्ठले बज्रधरको मूर्ति पाचौं शताव्दि पुरानो भएको भन्दै मूर्ति फिर्ता भएसँगै नयाँ इतिहासको कोर्ष लिने अवस्था रहेको प्रतिक्रिया दिनुभयो ।