images
images

काब्रे घटनाः मृतकका दाजु हिरासतमा, सोधपुछका लागि नियन्त्रणमा लिएका दुई जना रिहा

  • २० जेष्ठ २०८०, शनिबार १६:५४

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा केही दिन अघि मृत्यु भएका एक पुरुषको हत्या आशंकामा पक्राउ परेका दुई जना रिहा भएका छन् ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेका स्थानीय ५८ वर्षीय केदारबहादुर दाहालको शंकास्पद मृत्यु भएपछि हत्याको आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा दुई जना छुटेका हुन् । दाहालको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले सोधपुछका लागि मृतकका दाजु चुडाराज दाहाल, चन्द्रबहादुर दाहाल र चन्द्र विकलाई नियन्त्रणमा लिएको थियो । तीमध्य चन्द्र बहादुर दाहाल र चन्द्र विक तारिखमा रिहा भएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । मृतकका दाई चुडाराजलाई भने प्रहरीले पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । दाहालले प्रहरीकोमा सो घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको बयान दिएपनि थप अनुसन्धानका लागि राखिएको बुझिएको छ ।

गत मंगलबार चुडाराजसहित उनीहरु काब्रेस्थित बगर नजिकै भस्मेको जंगलको मुलगौडामा दाउरा चिर्न गएका थिए । सोही दिन नजिकै केदार पनि मादक पदार्थ सेवन गरी सडक छेउमा भुईमा लडेको अवस्थामा घाइते फेला परेका थिए । त्यसलगत्तै उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि बैतेश्वर अस्पाताल पु¥याएपनि सोही दिन बेलुकी उपचारका क्रममा मृत्यु भएको थियो । घटना भएको स्थानमा लडेर ज्यानै जाने खालको ठाउँ नरहेको भन्दै छोराहरु इश्वर दाहाल र मुनाल दाहालले प्रहरीकोमा जाहेरी दिएपछि उनीहरु तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।