images
images

जब चोरी गर्न डाक्टरको घर पुगे, एसी खोलेर आनन्दले भुँइमा निदाए

  • २१ जेष्ठ २०८१, सोमबार १५:१९

चोरीको घटना त नौलो कुरा होइन । तर, चोरीसँग सम्बन्धीत एक यस्तो घटना भयो जुन आश्चर्यजनक छ । भारतको उत्तर प्रदेश राज्यस्थित लखनउमा चोरी गर्न भनेर एक घरमा प्रवेश गरेका व्यक्ति निदाइरहेको अवस्थामा फेला परे । ती व्यक्ति एक जना डाक्टरको घरमा चोरी गर्न पुगेछन् । डाक्टरको घरमा कोही नभएको मौका छोपेर मातेको सुरमा चोरी गर्न पुगेका ती व्यक्ति चोरी गर्न त गए तर, एसी खोलेर भुइँमा मज्जाले निदाए ।

बिहानै घरको सामुन्ने गेट खुला देखेपछि छिमेकीहरुले डाक्टरलाई फोन गरे । डाक्टरले आफू र परिवार घरमा नभएको बताउँदै प्रहरीलाई बोलाएपछि घटना बाहिरियो । जहाँ चोरी गर्न डाक्टरको घरमा पुगेका व्यक्ति एसीमा मज्जाले निदाएको पाइएपछि प्रहरीहरु नै छक्क परेका थिए ।

पातलो ज्यान, पाखुरामा राखिएको त्यो मोबाइल फोन अनि मज्जाले एसीमा आन्नदमय वातावरणमा निदाएका उनलाई प्रहरीले ब्युझाएर नियन्त्रणमा लिएपछि बल्ल उनको होस खुल्यो । उनलाई निदाइरहेकै अवस्थामा ब्युझाएर नियन्त्रणमा लिएको भारत प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा ती व्यक्ति हातमा फोन समातेर निदाइरहेका देखिन्छन् । यो घटना हिजो आइतबार बिहानीपखको घटना रहेको प्रहरीको भनाइ छ ।