काठमाण्डौ । सिन्धुपाल्चोकसहित देशभरका २२ जिल्ला पहिरोको उच्च जोखिममा परेका छन् ।
देशभरका ५३ जिल्ला पहिरोको जोखिममा परेकोमा २२ जिल्ला उच्च जोखिममा परेका हुन् । यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जसअनुसार सिन्धुपाल्चोक, ओखलढुङ्गा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको उच्च जोखिममा परेका हुन् । अन्य ३१ जिल्ला पहिरोको जोखिम सूचीमा रहेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि नै यो पालिको मनसुनमा औसतदेखि धेरै पानी पर्न सक्ने अनुमान गरिसकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका बेला हुनसक्ने बाढी पहिरोसहित सबै खाले विपद्बाट अनुमानित १८ देखि २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलन पनि गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार हिमाल र पहाडका धेरैजसो जिल्लामा पहिरो र तराई÷मधेस क्षेत्रमा बाढीको जोखिम रहेको छ ।










